नियम १८९
प्रहरी किताबखानाको व्यवस्था
(१) यस नियमावलीको परिच्छेद–११ अन्तर्गतका देहाय बमोजिमका सुविधाहरू सम्बन्धित कार्यालयको सिफारिसमा प्रहरी किताबखानाबाट उपलब्ध गराइनेछ ।
(क) सेवा निवृत्त प्रहरी कर्मचारीहरूको अधिकारपत्र जारी गर्ने ।
(ख) उपदानको अङ्क किटान गरी सम्बन्धित निकायमा पठाउने ।
(ग) पारिवारिक निवृत्तिभरण, अशक्त निवृत्तिभरण, सन्ततिवृत्ति, शैक्षिकवृत्ति आदिको अधिकारपत्र जारी गर्ने ।
(घ) पारिवारिक निवृत्तिभरणको नामसारी गर्ने ।
(२) उपनियम (१) मा उल्लिखित सेवा उपलब्ध गराउने कार्यका अतिरिक्त प्रहरी किताबखानाबाट देहाय बमोजिमको कार्य समेत हुनेछ ः–
(क) पद दर्ता गर्ने,
(ख) पद खालीको लगत सङ्कलन गरी पद पूर्ति प्रयोजनको लागि मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा मासिक रुपमा वा तत्कालै लेखी पठाउने,
(ग) प्रहरी कर्मचारीहरूको भर्नादेखि अबकास सम्मका (नियुक्ति, सरुवा, वढुवा, पुरस्कार, विभागीय सजाय, शैक्षिक योग्यता, तालीम, औषधी उपचार समेत) सम्पूर्ण अभिलेख राख्ने,
(घ) सिटरोल दर्ता गर्ने र प्रमाणित गर्ने,
(ङ) नोकरी जोड्ने,
(च) स्केल मिलान गर्ने,
(छ) तलबी प्रतिवेदन पारित गर्ने,
(ज) अभिलेखमा विवरण फरक परेमा जाँचबुझ गरी यकीन गर्ने,
(झ) प्रहरी कर्मचारी वहाल छँंदै औषधी उपचार बापत लिएको रकमको अभिलेख राख्ने,
(ञ) सम्पत्ति विवरणको अभिलेख राख्ने ।
(३) नयाँ नियुक्तिको हकमा नियुक्ति गर्ने अधिकारीले र सो नियमावली बमोजिम सरुवा गर्ने अधिकारीले यस्तो नियुक्तिको वा सरुवाको सूचना प्रहरी किताबखानामा पठाई आफूभन्दा एक तह माथिल्लो अधिकृत र प्रहरी प्रधान कार्यालयमा त्यसको बोधार्थ दिनु पर्नेछ ।
(४) प्रहरी कर्मचारीको उपदान, निवृत्तिभरण विभागीय सजाय, पुरस्कार, प्रहरी कर्मचारी पदमा वहाल छँंदै औषधी उपचारवापतको रकम लिएको भए सो अभिलेख समेत प्रहरी किताबखानामा पठाउनु पर्नेछ ।
(५) नयाँ निवृत्तिभरण अधिकारपत्र, पट्टा संशोधन, प्रतिलिपि वा पाना सकिएमा थप पुस्तिका वितरणजस्ता कार्यहरु प्रहरी किताबखानाले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सम्वन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत उपलव्ध गराउनेछ ।